Download Here

प्रश्न नं १. शिक्षा ऐन, २०२८ बमोजिम माध्यामिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डको गठन प्रक्रिया सम्बन्धमा गरेको व्यवस्था प्रस्तुत गर्नुहोस् ।

 

उत्तरः शिक्षा ऐन, २०२८ आठौँ संशोधन को दफा“४क” बमोजिम माध्यामिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापनका लागि एक राष्ट्रिय परीक्षा बोर्ड रहने र राष्ट्रिय परीक्षा बोर्डको गठन देहायबमोजिम हुने उल्लेख छ :

क. मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधी हासिल गरेको र शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तीमा बाह्र वर्षको अनुभव प्राप्त व्यक्तिहरुमध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति –अध्यक्ष

ख. मन्त्रालयको सचिव –उपाध्यक्ष
ग. मन्त्रालयको सहसचिव (विद्यालय शिक्षा हेर्ने) –सदस्य

घ. महानिर्देशक, शिक्षा विभाग –सदस्य
ङ. कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र –सदस्य

च. सदस्य– सचिव, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् –सदस्य
छ. परीक्षा नियन्त्रक, त्रिभुवन विश्वविद्यालय – सदस्य

ज. प्राध्यापन, शिक्षा प्रशासन र परीक्षा क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरी विशेषज्ञता हासिल गरेका व्यक्तिहरुमध्येबाट बोर्डले मनोनीत गरेका कम्तीमा दुईजना महिला सहित तीनजना –सदस्य

झ. सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुमध्ये बाट कम्तीमा एकजना महिलासहित मन्त्रालयले मनोनीत गरेका दुईजना –सदस्य

ञ. नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथा श्रेणीको अधिकृत वा बोर्डको वरिष्ठ कर्मचारीहरुमध्येबाट मन्त्रालयले तोकेको कर्मचारी –सदस्य–सचिव

– बेर्डको अध्यक्षको नियुक्तिको लागि नेपाल सरकारलाई सिफारिस गर्न लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्हरु मध्येबाट कम्तीमा एकजना महिलासहित मन्त्रालयले

मनोनीत गरेका दुईजना सदस्य रहेको एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई नेपाल सरकारले बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।

–बोर्डका अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।

 

 


 

प्रश्न नं. २ . पेशागत अभ्यास भनेको के हो ? एउटा शिक्षकलाई पेशागत अभ्यासको किन आवश्यक पर्छ ? व्याख्या गर्नुहोस् ।

उत्तरः शिक्षकले आफ्नो पेशागत क्रियाकलापहरु र नियमित कार्यक्रम गरिरहेको अवस्थामा आफ्नो पेशासँग सम्बन्ध राख्ने क्रियाकलापहरुसँग परिचित हुने कार्यलाई साधारण अर्थमा पेशागत अभ्यास भनिन्छ ।

 

पेशागत तत्वहरुअन्तर्गत पेशागत अभ्यास पनि एउटा महत्वपूर्ण तत्वको रुपमा रहेको हुन्छ । पेशागत अभ्यासहरु अन्तर्गत पेशागत कुराहरु समावेश हुने गर्दछन् । एउटा शिक्षकलाई पेशागत अभ्यास निम्न कार्यका लागि आवश्यक हुन्छ ।

 

१. उपलब्ध पाठ्यक्रम र यसमा समावेश भएका विषयवस्तुहरु सान्दर्भिक, विधिसम्भव भए–नभएको कुरालाई केलाउने र आवश्यक सुधारका लागि सल्लाह सुझाव उपलब्ध गराउने खालका कामहरु गर्ने सिप प्राप्त गर्न,

 

२. सिकारुमा दिगो सिकाइका लागि गृहकार्य वा अन्य कार्यहरु (कक्षाबाहिर) को योजना निर्माण गर्ने सिप प्राप्त गर्न ,

 

३. सिकारुको सिकाइका सफलता प्रवद्धन गर्नका लागि सुधारात्मक वा अन्य शैलीका मूल्याङ्कनहरु र यसका प्रक्रियाका बारेमा अध्ययन एवं छलफल सम्बन्धी ज्ञान लिन,

 

४. सिकारुको सिकाइ क्षमता वृद्धि गर्नका लागि आवश्यक पर्ने योजनाहरुको निमार्ण गर्ने,


५. राष्ट्रले जारी गरेको नयाँ ऐन नियम तथा शैक्षिक कार्यक्रमका सम्बन्धमा निरन्तर जानकार र सचेत हुनु,

 

६. पेशागत क्रियाकलापमा देखिएका समस्या र विशिष्ट समस्याका विषयमा अनुसन्धानसम्बन्धी ज्ञान र सिप प्राप्ति गर्न,

 

७.बालकका समस्याहरुका सम्बन्धमा घटना अध्ययन सम्बन्धी नयाँ विधिको बारेमा जानकारी लिन आवश्यक छ यी बाहेक अन्य बुँदाहरु पनि जोड्न सकिनेछ ।

 

 

 

प्रश्न नं. ३ नमुना प्रश्न : बहुपाठ्यपुस्तक भनेको के हो ? नेपालमा बहुपाठ्यपुस्तक सम्बन्धी नीतिगत व्यवस्था उल्लेख गर्दै बहुपाठ्यपुस्तकको आवश्यकता पर्नुको कारणहरु उल्लेख गर्नुहोस् । बहुपाठ्यपुस्तक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न के गर्नुपर्ला ? व्यावहारिक सुझाव प्रस्तुत गर्नुहोस् ।

उत्तर : कुनै एक विषयमा एक भन्दा बढी पाठ्यपुस्तकहरु लेखन र प्रकाशन भई प्रयोगकर्तालाई प्रशस्त छनोटको अवसर दिने व्यवस्थालाई बहुपाठ्यपुस्तक भनिन्छ ।

 

बहुपाठ्यपुस्तक पद्धतिमा पाठ्यक्रमका आधारमा तयार गरिएका पुस्तकहरुमध्ये बढी सान्दर्भिक, गुणस्तरीय, आधिकारिक पुस्तक छनोट गरी पठनपाठन र अध्ययन गर्ने अवसर हुन्छ । हाल नेपालमा विद्यार्थीको रुचि, क्षमता, सिकाइको गति, पाठ्यपुस्तकको सर्वसुलभतालाई समेत ध्यान दिई राष्ट्रिय पाठ्यक्रम प्रारूपको खाकाभित्र रही बहपाठ्यपुस्तक विकास एवम् प्रयोग गर्ने नीतिगत व्यवस्था छ। यसका साथै विद्यालय शिक्षाका पाठ्यपुस्तकहरूको विकास, उत्पादन तथा वितरण कार्यलाई खुला प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रको सहभागिता गराउने नीतिगत व्यवस्थासमेत गरिएको छ।

 

पाठ्यपुस्तकको सर्वसुलभता, उपयुक्तता, अद्यावधिकता, पर्याप्तता र आधारिकता जस्ता मापदण्डहरुको आधारमा गुणस्तरीय पाठ्यपुस्तकको छनोट गरी पठनपाठन र अध्ययन गर्नको लागि बहुपाठ्यपुस्तकको खाँचो पर्दछ ।

 

यसका साथै बहुपाठ्यपुस्तकको आवश्यकता पर्नुका कारणहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

  • आधिकारिक, सान्दर्भिक, अद्यावधिक, उपयोगी, व्यावहारिक पुस्तक पढ्ने अवसर प्रदान गर्न

 

  • स्वच्छ प्रतिस्पर्धात्मक प्रक्रियाका आधारमा विकास भएको पाठ्यपुस्तकलाई सर्वसुलभ र सहजरुपमा प्राप्त गर्न

 

  • पाठ्यपुस्तकको गुणस्तरमा एकरूपता प्रदान गर्न

 

  • प्रयोगकर्तालाई पाठ्यपुस्तक छनोटको अवसर प्रदान गर्न

 

  • पाठ्यपुस्तक विकास कार्यलाई वैज्ञानिक, पारदर्शी र स्वच्छ प्रतिस्पर्धी बनाउन

 

  • सूचना प्रविधिमा आधारित भई सिकाइ सहजीकरण प्रक्रियामा विविधतायुक्त पाठ्यपुस्तकको उपयोग गर्न

 

  • सिकाइ सहजीकरणलाई एक मात्र पाठ्यपुस्तकमा आधारित नबनाई सिकाइ उपलब्धिमा आधारित बनाउन

 

  • प्रयोगकर्ताहरुमा विषयवस्तुको ज्ञान, सिप, अभिवृत्तिको दायरा फराकिलो बनाउन

 

 

बहुपाठ्यपुस्तक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निम्नलिखित कार्यहरु गर्न सकिन्छ :

  • पुस्तक छनोट प्रक्रियालाई पारदर्शी बनाइ अध्यापन गर्ने वातावरण तयार गर्ने

 

  • प्रतिस्पर्धाको आधारमा गुणस्तरीय पाठ्यपुस्तक मात्र विद्यालयमा पठनपाठनको गर्ने व्यवस्था गर्ने

 

  • स्तरीय प्रकाशकलाई मात्र सर्त तोकेर प्रकाशन र वितरणको व्यवस्था मिलाउने र स्तरीय प्रकाशन गरे नगरेको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्ने

 

  • पाठ्यक्रम विकास केन्द्रद्वारा वैज्ञानिक र व्यावहारिक पाठ्यक्रम निर्माण गर्ने र सम्बद्द निकायद्वारा प्राज्ञिक तथा व्यावहारिक गुणस्तरको परीक्षण गरी प्रकाशन गर्न स्वीकृति दिने

 

  • पाठ्यपुस्तकमा आधारित नभइ पाठ्यक्रममा आधारित प्रश्न निर्माणमा जोड दिने

 

  • पाठ्यक्रमअनुसार निर्धारित मापदणअनुसार पाठ्यपुस्तक विकास भए नभएको अनुगमन गर्न, विक्री वितरणमा पारदर्शिता र सुगमता ल्याउन पाठ्यपुस्तक र प्रकाशनको मूल्यांकन गर्न तथा पाठ्यपुस्तकको उत्पादन वितरण र पठनपाठन कार्यमा प्रभावकारिता ल्याउन प्रभावकारी अनुगमन संयन्त्र निर्माण गर्ने ।

 

  • राष्ट्रिय पुस्तक नीति तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने

 

  • गुणस्तरीय र उपयुक्त प्रकाशनलाई प्रोत्साहन गर्ने

 

 

निष्कर्ष : अहिलेको एक्काइसौं शताब्दीको युगमा विद्यार्थीहरुको सिकाइलाई एकल पाठ्यपुस्तकमा सीमित गर्न सकिदैन । विज्ञान र सूचना प्रविधिको विकासले ल्याएका नवीनतम पक्षहरु, आधिकारिकता, विषयवस्तुको प्रर्याप्तता, शुद्धता, सहजताको लागि विद्यार्थीहरुलाई उपयुक्त पाठ्यपुस्तक छनोट गरी अध्ययन गर्ने अवसर दिनुपर्ने हुन्छ । यसको लागि राष्ट्रिय नीति, कानून, संयन्त्र, गुणस्तर परीक्षण र प्रभावकारी अनुगमनको अपरिहार्यता रहन्छ ।



यस्तै शिक्षक बढुवाको Note हेर्न  आफ्नो Mobile मा रहेको Google Playstore खोलेर  Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ   Install गर्नुहोस् वा तलको Photo मा Click गरेर Downlod गर्नुहोस्   


Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post