Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-

आमाको आँखा

मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन् त्यसैले म उनलाई घृणा गर्थेँ । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस् भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन् । त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो ।

 


अचानक एकदिनको कुरा हो, मेरी आमा मेरो पढाइको बारेमा बुझ्न मेरो स्कुलमा आइन् । मैले मेरा साथीहरूलाई उनी मेरी आमा हुन् भनेर चिनाउन सकिन, किनकि मेरी आमा अत्यन्तै कुरुप थिइन् । उनी त्यसरी मेरो स्कुलमा आउँदा मलाई अत्यन्तै नराम्रो लाग्यो । मैले उनलाई कर्के आँखाले हेरेँ र बाहिरतिर दौडिएँ ।

 

अर्को दिन मेरो एकजना साथीले मसँग मेरी आमाको बारेका कुरा उठायो । उसले मलाई भन्यो- “छ्या तिम्री आमाको त एउटा मात्रै आँखा ! कस्ती काली तिम्री आमा त ! त्यस्ती कुरुप बुढीलाई आमा भन्न तिमीलाई लाज लाग्दैन ?” उसको कुरा सुनेर म मरेजस्तै भएँ । आखिर त्यस दिन मेरी आमा किन स्कुलमा आएकी होलिन् ! उनीप्रतिको रिस र आक्रोशले म आफैँलाई चिथोरुँ जस्तो लाग्यो । साथीहरूको अगाडि बेइज्जत भएको भन्ठानी मलाई भुतुक्क मरुँ जस्तो पनि लाग्यो ।

 

एकदिन मैले आमालाई बेस्सरी झपार्दै भनेँ- “तिमी किन गयौ मेरो स्कूलमा, आफ्नो कुरुपता प्रदर्शन गरेर किन मेरो बेइज्जत गर्यौ ?” मैले आबेगमा नै भनिदिएँ- “तिमी मर्न नसकेकी बुढी ।” मेरी आमाले कुनै प्रतिउत्तर दिइनन् । मैले आमालाई गरेको गाली सम्झेर मलाई कत्ति पनी पछुतो लागेन किनकि म उनीसँग असाध्य रिसाएको थिएँ । उनको कुरुपताले ममा घृणाभाव बढाइरहेको थियो । मलाई त्यो घरबाट धेरै टाढा भाग्न मन लाग्यो ताकि अब उनीसँग कहिल्यै भेट नहोस्, उनको कुरुप अनुहार देख्नै नपरोस् । दिनहरू बित्दै गए । त्यसपछि मैले धेरै मेहनेतका साथ पढेँ । मैले स्वदेशमा मात्र होइन विदेश गएर पढ्नसमेत छात्रवृत्ति पाएँ । मैले धेरै पढेँ र पछि बिहे पनि गरेँ । शहरमा एउटा सुन्दर घर पनि बनाएँ । यतिखेर मेरा आफ्नै छोराछोरी पनि भइसकेका थिए । म आफ्नै संसारमा मस्त थिएँ ।

 

मेरो मस्तीको सँसारमा एकदिन अचानक मेरी आमा आइपुगिन् । मेरो घरको ढोकामा मेरी आमा उभिएकी थिइन् । उनीसँग भेट नभएको निकै भइसकेको थियो । बुढ्यौलीका कारण उनको कुरुपता अझै बढेको थियो । उनले आफ्ना नातिनातिनालाई त देखेकीसम्म थिइनन् । मेरो ढोकामा उभिएको उनको त्यो कुरुप अनुहार देखेर मेरा बच्चाहरूले उनलाई बेसरी जिस्क्याए, गिज्याए । उनले मेरा सन्तानलाई गाली गरिन् र थप्पड पनि लगाइन् । मेरो घर आँगनमा मेरै सन्तानले गाली र थप्पड खाएको देख्दा मलाई असैहृय भयो । मैले उनलाई बेसरी कराएँ । “तिमी किन आएकी यहाँ ? कसले बोलायो तिमीलाई ? तिम्रो यो अनुहार लिएर कहिल्यै आउनुपर्दैन यहाँ । जाउ, गइहाल तुरुन्त गइहाल ।” मेरो गाली सुनेर उनले विस्तारै जवाफ दिइन्- “माफ गर, सायद मैले गलत ठेगाना समातेछु । म तिम्रोमा आएर अब कहिल्यै पनि तिमीलाई दुख दिनेछैन ।” यति भनेर उनी त्यहाँबाट तुरुन्तै हराइन् ।

अरू केही वर्ष बितेर गए । एकदिनको कुरा हो गाउँको मेरो पुरानो विद्यालयमा पुनर्मिलन समारोहको आयोजना गरिएको र त्यसमा अनिवार्य सहभागी हुन लेखिएको निम्तोपत्र मेरो हातमा पर्यो । कुनै विजनेस ट्रिपमा जाँदैछु भनेर मैले मेरी श्रीमतीलाई ढाँटेँ र म मेरो पुरानो विद्यालयको त्यो समारोहमा भाग लिन गएँ । समारोहको अन्त्यसँगै त्यहीँ नजिकै रहेको मेरो पुरानो गाउँमा घुम्न मलाई उत्सुकता जागेर आयो । म मेरो पुरानो गाउँतिर गएँ । मैले गाउँलेहरूबाट मेरी कुरुप आमा मरिसकेको थाहा पाएँ । आमाको मृत्यूमा मलाई कुनै विस्मात लागेन । एक सामान्य घटना घटेजस्तै मैले
त्यसलाई सहज ढंगले पचाएँ । उनका लागि मसँग एक थोपा आँशु पनि थिएन । तर मृत्यूअघि मेरी आमाले मलाई लेखेको एउटा चिठी गाउँलेहरूले मेरा हातमा थमाइदिए । चिठी खोलेँ र पढ्न थालेँ । चिठीमा यस्तो लेखिएको थियो-

 

मेरो प्रिय छोरा,
मलाई माफ गर, म तिम्रो घर आएर तिम्रै छोराछोरीलाई गाली गरेँ । मैले तिमीलाई पटक पटक दुःख पनि दिएँ । तिमी आफूले पढेको गाउँको विद्यालयमा आउँदैछौ भन्ने थाहा पाएर म निकै खुसी भएकी थिएँ तर तिमीलाई हेर्न म उठ्न सकिन छोरा । म निकै बिरामी थिएँ । तिमीलाई हेर्ने मेरो अन्तिम धोको पनि पूरा गर्न सकिन । तिमी ठूलो हुँदासम्म मैले तिम्रो चित्त बुझाउन कहिल्यै पनि सकिन । छोरा, तिम्रो आँखामा म सदा घृणाको पात्र भइरहेँ । मैले तिमीलाई निकै दुःख दिएकी छु ।


छोरा, तिमीलाई थाहा छैन जब तिमी सानो थियौ- अचानक एउटा दुर्घटनामा परेका थियौ । त्यही दुर्घटनामा तिमीले एउटा आँखा गुमायौ । एउटी आमा भएकीले मैले तिमीलाई एउटा मात्र आँखा भएको हेर्न सकिन । हुन पनि कसरी सक्नु, आफ्नै सन्तान एउटा मात्रै आँखा लिएर हुर्किरहेको छ । तिम्रा साथीहरूले तिमीलाई एकआँखे भनेर हेपेको र जिस्काएको मैले सहनै सकिन । अनि एकदिन मैले तिमीलाई अस्पताल लिएर गएँ । अस्पतालमा आँखा किनेर प्रत्यारोपण गर्न धेरै रकम चाहिने रहेछ तर मसँग त्यति धेरै पैसा कहाँ थियो र ! ? अन्ततः डाक्टरलाई मैले मेरो आफ्नै एउटा आँखा झिक्न लगाएँ र तिम्रो बिग्रिएको आँखामा प्रत्यारोपण गरिदिएँ ।


अब तिमीसँग दुइवटै आँखा भए । आहा, तिमी कति सुन्दर देखियौ । मेरा निम्ति जीवनको यो अत्यन्तै दुर्लभ खुशी थियो । प्यारो छोरा, आज मलाई निकै गर्व लागिरहेको छ । मेरो सन्तान जसले आज मेरै आँखाबाट संसार हेरिरहेको छ । आखिर के नै फरक भयो र मैले हेर्ने संसार आज मेरै आँखाबाट मेरो आफ्नै छोराले हेरिरहेको छ । त्यो त्यही आँखा हो, जुन आँखाले मैले पहिले संसार हेर्ने गर्दथेँ आज मेरो छोराले हेरिरहेको छ । म निकै खुसी छु छोरा ।


म अब यो संसारमा रहनु र नरहनुमा केही फरक छैन किन कि मेरो ठाउँमा आज मेरो छोरा छ अनि मेरै आँखाले यो अनुपम संसार हेरिरहेको छ । तिमी जहाँ रहन्छौ सुखी रहनु, सम्पन्न रहनु । यो मेरो आशिर्वाद तिमीलाई । छोरा तिमीले अब कुनै पनि बेला सोच्नुपर्दैन कि तिम्री यो कुरुप आमा आएर तिमीलाई फेरिफेरि दुःख दिनेछ । तिमीलाई नहेरी बस्न नसकेकीले मात्र कहिलेकाँही तिमीलाई भेट्न आउँथे, अब त त्यो दिन पनि सकियो छोरा, अब तिमी सधैसधै सुखी रहनु ।

 

मेरो सारा आशीवाद र माया तिमीलाई ।
उही तिम्री,
कुरुप आमा

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post